

बैतडी – सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाले बैतडीसहित पहाडी जिल्लामा रहेका अस्पतालहरूको क्षमता विस्तार गरी २५ देखि ५० शय्यासम्म पुर्याइने जानकारी दिएका हुन्।
हाल जिल्ला अस्पताल बैतडी १५ शय्याको स्वीकृत दरबन्दीमा सञ्चालन भइरहेको छ। तर भौतिक पूर्वाधार, सेवा विस्तार र बिरामीको चापका आधारमा अस्पतालले लामो समयदेखि ५० शय्या बराबरको सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए।
उनका अनुसार अस्पतालमा ५० शय्याको सेवा सञ्चालन गर्न आवश्यक भौतिक संरचना, उपकरण तथा बिरामीको पर्याप्त चाप रहेको छ। यही आधारमा अस्पताललाई औपचारिक रूपमा ५० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारसमक्ष माग गरिएको थियो।
‘अस्पतालमा ५० शय्यासम्मको सेवा सञ्चालन गर्न सकिने पूर्वाधार तयार छ। बिरामीको चाप पनि त्यहीअनुसार रहेको छ। त्यसैले हामीले प्रदेश सरकारसँग ५० शय्याको अस्पतालका रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थियौँ,’ अध्यक्ष क्षेत्रीले भने।
उनले जिल्ला अस्पताल बैतडीले स्वास्थ्य सेवा गुणस्तर मूल्यांकन अन्तर्गतको एमएसएस एसेसमेन्टमा ९१ अंक प्राप्त गरी दुई पटक देशकै उत्कृष्ट अस्पतालको सूचीमा स्थान बनाउन सफल भएकाले पनि स्तरोन्नतिको आधार बलियो रहेको बताए।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत अस्पताल स्तरोन्नतिको घोषणा गरेपछि जिल्लावासीमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुधार हुने अपेक्षा बढेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका तीन प्रमुख प्रादेशिक अस्पतालहरू—सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई पनि स्तरोन्नति गर्ने योजना अघि सारेको छ। नीति तथा कार्यक्रमअनुसार यी तीनवटै अस्पतालको क्षमता विस्तार गरी १०० शय्यामा पुर्याइनेछ।
प्रदेश सरकारको यो योजनाले सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, बिरामीको उपचार क्षमता वृद्धि तथा प्रदेशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


