

ललितपुर- नेपालमा पहिलो पटक आयोजना गरिएको दुई दिने ऐतिहासिक ‘नेपाल युवा आँखा चिकित्सक सम्मेलन’ सम्पन्न भएको छ। देशभरका ४० वर्षमुनिका युवा आँखा चिकित्सकहरूको साझा मञ्च ‘यंग अप्थाल्मोलोजिष्ट नेपाल’को आयोजनामा ललितपुरको रोयल टुलिप होटलमा जेठ १६ र १७ गते सम्मेलन सञ्चालन भएको हो।
“युवा आँखा चिकित्सकहरूमा उत्कृष्टता प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा देशभरका युवा नेत्र विशेषज्ञ, मेडिकल कलेजका रेजिडेन्ट डाक्टर र वरिष्ठ चिकित्सकहरूको व्यापक सहभागिता थियो।
सम्मेलनका मुख्य अतिथि एवं वरिष्ठ आँखा चिकित्सक प्रो. डा. सन्दुक रुइतले युवा चिकित्सकहरू नै नेपाली नेत्र चिकित्साको वास्तविक भविष्य भएको बताए। युवा पुस्ताको ऊर्जा र आधुनिक प्रविधिप्रतिको ज्ञानको प्रशंसा गर्दै उनले ‘यंग अप्थाल्मोलोजिष्ट नेपाल’ को विकास र युवाहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि व्यक्तिगत एवं संस्थागत रूपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।


