

तनहुँ- तनहुँको भानु नगरपालिकाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमार्फत छातीसम्बन्धी रोगको पहिचान अभियान सञ्चालन गर्दा २३ जना क्षयरोगका सम्भावित बिरामी फेला परेका छन्।
भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा आयोजित एआई प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरमा ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २३ जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि थप पुष्टि र प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा उक्त विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरको मुख्य उद्देश्य क्षयरोग तथा छातीसम्बन्धी अन्य जटिल रोगलाई प्रारम्भिक चरणमै पहिचान गर्नु रहेको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार एआई प्रविधिले एक्स–रे रिपोर्टको प्रारम्भिक विश्लेषण गरी जोखिममा रहेका व्यक्तिहरूलाई छिटो पहिचान गर्न महत्वपूर्ण सहयोग गरेको छ। यसले समुदायस्तरमै रोगको प्रारम्भिक स्क्रिनिङलाई सहज, छरितो र प्रभावकारी बनाएको उनको भनाइ छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले परम्परागत विधिको तुलनामा एआई प्रविधि बढी प्रभावकारी र भरपर्दो भएकाले यसको प्रयोग गरिएको बताए।
शिविरमा क्षयरोगका बिरामी तथा उपचाररत बिरामीका परिवारका सदस्य, इट्टाभट्टालगायत जोखिमपूर्ण क्षेत्रमा कार्यरत मजदुरलाई प्राथमिकता दिइएको थियो। साथै अत्यधिक धूम्रपान वा मद्यपान गर्ने व्यक्ति, दम, मधुमेह, उच्च रक्तचाप, एचआईभी/एड्सजस्ता दीर्घरोग भएका नागरिक तथा लामो समयदेखि खोकीको समस्या भोगिरहेका व्यक्तिहरूले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए।


