
काठमाडौं – नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। विज्ञहरूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रभावकारी नीतिगत हस्तक्षेपको आवश्यकता औँल्याउँदै पछिल्ला वर्षमा निकोटिनयुक्त नयाँ उत्पादनमार्फत युवापुस्तालाई लक्षित गरिँदै गएको चेतावनी दिएका छन्।
विश्व धूमपानरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगलगायत नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढाइरहेको बताए।
उनले सुर्ती नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिँदै सुर्ती तथा निकोटिनजन्य पदार्थले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको उल्लेख गरे।
डा. देवकोटाका अनुसार युवालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिनजन्य उत्पादन नियन्त्रण गर्न विद्यमान कानुनी तथा नियामक संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्ने अन्तर्राष्ट्रिय सिफारिस रहे पनि नेपालमा हाल यसको करभार करिब ३५ प्रतिशतको हाराहारीमा सीमित छ। यसले सुर्ती नियन्त्रण अभियानलाई अपेक्षित प्रभावकारी बनाउन चुनौती थपेको सरोकारवालाहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर १ अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गरिरहेका छन्। दक्षिण–पूर्वी एशिया क्षेत्रमा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरी सुर्तीजन्य पदार्थका प्रयोगकर्ता छन्। यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूमपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्, जुन विश्वका कुल प्रयोगकर्तामध्ये करिब ८० प्रतिशत हिस्सा हो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट संकलित कर स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सुर्ती नियन्त्रण अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउचजस्ता नयाँ उत्पादनले विशेषगरी युवापुस्तालाई आकर्षित गरिरहेको बताए।
उनका अनुसार स्वादयुक्त उत्पादन, आकर्षक प्याकेजिङ, सामाजिक सञ्जाल र डिजिटल विज्ञापनमार्फत किशोरकिशोरीलाई लक्षित गरिने प्रवृत्ति बढ्दो छ। यस्ता गतिविधि नियन्त्रण गर्न सरकार, स्वास्थ्यकर्मी र समुदायबीच समन्वित अभियान आवश्यक रहेको उनले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण–पूर्वी एशिया क्षेत्रले सुर्तीजन्य पदार्थको प्रयोग घटाउने क्षेत्रमा विश्वकै उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २००० मा वयस्क पुरुषमा ७०.१ प्रतिशत रहेको सुर्ती प्रयोगको दर सन् २०२४ मा ३७.४ प्रतिशतमा झरेको छ भने महिलामा ३८ प्रतिशतबाट घटेर ९.३ प्रतिशतमा पुगेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले युवापुस्तालाई सही सूचना र सचेतना प्रदान गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताइन्। उनले विद्यालय, परिवार र समुदायस्तरबाटै सुर्तीजन्य पदार्थको लत सुरु हुन नदिन व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक प्रचार तथा आकर्षक विज्ञापनबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रम विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले धूमपानका कारण अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको बताए। चुरोटमाथि नियमन कडा बन्दै गएपछि सुर्ती तथा निकोटिन उद्योगले इलेक्ट्रोनिक चुरोट, सिन्थेटिक निकोटिन उपकरण र निकोटिन पाउचजस्ता नयाँ उत्पादनको प्रचार–प्रसार बढाएको उनको आरोप छ।
उनले स्वादयुक्त उत्पादन, आकर्षक डिजाइन तथा डिजिटल मार्केटिङमार्फत युवालाई लक्षित गर्ने प्रवृत्तिले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती सिर्जना गरेको बताए। जनचेतना, कर नीति र उपचार सेवाको पहुँचलाई सँगसँगै अघि बढाउन सके मात्र सुर्ती नियन्त्रण अभियान प्रभावकारी बन्ने उनको भनाइ थियो।
यसैबीच, आइतबार ‘आकर्षणको मुखुण्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँ’ भन्ने मूल नारासहित विश्व धूमपानरहित दिवस मनाइँदै छ। दिवसको अवसरमा सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोग न्यूनीकरण र जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।


