
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादनको बढ्दो प्रयोग विश्व जनस्वास्थ्यका लागि गम्भीर चुनौती बनेको भन्दै विशेषगरी युवापुस्तालाई लक्षित गरी गरिने उद्योगहरूको प्रचार रणनीतिप्रति सचेत रहन आग्रह गरेको छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ का अवसरमा जारी सन्देशमा डब्लुएचओकी दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहमेले विश्वभर १ अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादन प्रयोग गरिरहेको बताएकी छन्। उनका अनुसार यस्ता पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोगलगायतका गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशिया क्षेत्रमा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरी सुर्तीजन्य पदार्थ प्रयोगकर्ता छन्। यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूम्रपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्, जुन विश्वका कुल यस्ता प्रयोगकर्तामध्ये करिब ८० प्रतिशत हिस्सा हो।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवस “अपीललाई उजागर गरौँ : निकोटिन र सुर्तीजन्य पदार्थको लतविरुद्ध लडौँ” भन्ने नाराका साथ मनाइँदै छ। डब्लुएचओका अनुसार दिवसको मुख्य उद्देश्य सुर्ती तथा निकोटिन उद्योगहरूले आफ्ना उत्पादनलाई आकर्षक बनाएर युवापुस्तालाई कसरी लततर्फ धकेलिरहेका छन् भन्ने विषयलाई सार्वजनिक रूपमा उजागर गर्नु हो।
संगठनले दक्षिण–पूर्वी एशियामा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गएको उल्लेख गरेको छ। सन् २००० देखि २०२४ सम्म वयस्क पुरुषमा सुर्ती प्रयोगको दर ७०.१ प्रतिशतबाट घटेर ३७.४ प्रतिशतमा पुगेको छ भने महिलामा यो दर ३८ प्रतिशतबाट ९.३ प्रतिशतमा झरेको छ।
डब्लुएचओले सन् २०१० देखि २०२५ बीच वयस्क सुर्तीजन्य पदार्थ प्रयोगमा ४० प्रतिशत सापेक्षिक कमी ल्याउने लक्ष्यतर्फ दक्षिण–पूर्वी एशिया क्षेत्र उल्लेखनीय रूपमा अघि बढिरहेको जनाएको छ। यो उपलब्धि गैर–सञ्चारी रोग नियन्त्रणसम्बन्धी विश्वव्यापी लक्ष्यभन्दा पनि माथि रहेको संगठनको दाबी छ।
विश्वभर सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको सङ्ख्यामा अनुमानित १२ करोडले कमी आउँदा त्यसको आधाभन्दा बढी योगदान दक्षिण–पूर्वी एशिया क्षेत्रबाट हुने अपेक्षा गरिएको डब्लुएचओले जनाएको छ। साथै, माल्दिभ्स पुस्तागत सुर्तीजन्य पदार्थ प्रतिबन्ध लागू गर्ने विश्वकै पहिलो देश बनेको उल्लेख गर्दै संगठनले यसलाई सुर्ती नियन्त्रण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।
डब्लुएचओका अनुसार सुर्ती नियन्त्रणसम्बन्धी विश्वव्यापी सन्धि (एफसीटीसी) तथा एमपावर रणनीतिको प्रभावकारी कार्यान्वयनले सुर्ती प्रयोग घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यी रणनीतिअन्तर्गत सुर्ती प्रयोगको निगरानी, दोस्रो हातको धुवाँबाट सुरक्षा, धूम्रपान त्याग्न सहयोग, स्वास्थ्य जोखिमबारे चेतावनी, विज्ञापन प्रतिबन्ध तथा कर वृद्धिजस्ता उपाय समावेश छन्।
यद्यपि परम्परागत सुर्तीजन्य पदार्थमाथि नियन्त्रण कडा बन्दै जाँदा उद्योगहरूले नयाँ बजार रणनीति अपनाउन थालेको डब्लुएचओले जनाएको छ। ई–सिगरेट, निकोटिन पाउच तथा कृत्रिम निकोटिनयुक्त उपकरणलाई आधुनिक, सुरक्षित र आकर्षक उत्पादनका रूपमा प्रचार गर्दै विशेषगरी किशोरकिशोरी तथा युवालाई लक्षित गरिएको संगठनको भनाइ छ।
स्वादयुक्त उत्पादन, डिजिटल विज्ञापन र सामाजिक सञ्जालमार्फत हुने प्रवर्द्धनले युवालाई बढी आकर्षित गरिरहेको भन्दै डब्लुएचओले सरकारहरूलाई यस्ता गतिविधिमाथि कडा निगरानी र प्रभावकारी नियन्त्रण गर्न आग्रह गरेको छ।
संगठनले कृत्रिम निकोटिन, निकोटिन साल्ट तथा अन्य उदीयमान निकोटिनजन्य उत्पादनसम्बन्धी कानुनी तथा नियामक व्यवस्था थप सुदृढ बनाउन, स्वादयुक्त उत्पादन र डिजिटल प्लेटफर्ममा हुने विज्ञापन नियन्त्रण गर्न तथा युवालाई उद्योगको प्रभावबाट जोगाउन व्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
डा. बोहमेले सुर्ती र निकोटिनको लतबाट मुक्त हुन सकिने बताउँदै त्यसका लागि उद्योगले सिर्जना गरेको कृत्रिम आकर्षण, भ्रामक प्रचार र बजार रणनीतिबारे नागरिकलाई सुसूचित गर्नु अत्यन्त आवश्यक रहेकोमा जोड दिएकी छन्।


