

दैलेख – संघीय सरकारले अस्पताल नभएका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७७/७८ मा ५, १० र १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। तर घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि दैलेखको आठबिस नगरपालिकास्थित १५ शय्याको आधारभूत अस्पताल आवश्यक जनशक्ति, उपकरण र बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
आठबिस नगरपालिका–४ राकम कर्णालीमा निर्माण गरिएको अस्पताल भवन तयार भइसके पनि सेवा सञ्चालन हुन नसक्दा स्थानीयवासीले अपेक्षित स्वास्थ्य सुविधा पाउन सकेका छैनन्। संघीय सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लालाई दिएको थियो। तर प्रतिष्ठानमा पटकपटक पदाधिकारी फेरबदल भइरहँदा सेवा सञ्चालनको प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।
२०८२ साल साउनमा निर्माण सम्पन्न भई नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पतालमा स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा भवन प्रयोगविहीन बनेको छ।
आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार माझीले अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी संघीय सरकारमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको भए पनि हालसम्म सेवा सुचारु हुन नसकेको बताए।
उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र बजेटको सुनिश्चितता नहुँदा प्रक्रिया अन्योलमै रहेको छ। “भवन अत्याधुनिक ढंगले निर्माण गरिएको छ। स्वास्थ्यकर्मी बस्ने क्वार्टरदेखि अप्रेसन थिएटरसम्मका संरचना तयार भइसकेका छन्,” उनले भने, “तर स्वास्थ्यकर्मी व्यवस्थापन हुन नसक्दा भवन खाली अवस्थामा छ।”
उनले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनबारे प्रतिष्ठानसँग पटकपटक छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको जानकारी दिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५ शय्याको ‘स्याटेलाइट अस्पताल’ अवधारणा अघि सारेपछि संघीय सरकारले उपकरण र जनशक्ति व्यवस्थापनको जिम्मेवारी प्रतिष्ठानलाई दिएको थियो। तर हालसम्म अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वतयारी पूरा हुन सकेको छैन।
प्रतिष्ठानले पनि अस्पताल व्यवस्थापन र सेवा सञ्चालनका विषयमा दुईपटक छलफल भए पनि सहमति जुट्न नसकेको जनाएको छ। प्रतिष्ठानमा बारम्बार नेतृत्व परिवर्तन हुँदा समस्या थप जटिल बनेको सरोकारवालाको भनाइ छ।
आठबिस नगरपालिकाकी उपप्रमुख कल्पना थापाले स्थानीय तहको सीमित आर्थिक स्रोतका कारण नगरपालिकाले मात्रै अस्पताल सञ्चालन गर्न नसक्ने बताइन्। “नगरपालिकाको आयस्रोत न्यून छ। यति धेरै स्वास्थ्यकर्मी आफैं नियुक्त गरेर अस्पताल सञ्चालन गर्ने क्षमता हामीसँग छैन,” उनले भनिन्, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो जिम्मेवारीअनुसार उपकरण र दरबन्दी व्यवस्थापन नगरेसम्म अस्पताल सञ्चालन सम्भव छैन।”
अस्पताल सञ्चालनमा आए स्थानीय नागरिकलाई सामान्यदेखि आधारभूत उपचारका लागि सुर्खेत वा अन्य जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य हुने नगरपालिकाको अपेक्षा छ। तर आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा ढिलाइ भइरहँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको अस्पताल भवन अहिले पनि सेवा दिन नपाई रित्तै रहेको छ।



