
काठमाडौं – किष्ट शिक्षण अस्पतालअन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले ‘अंगदाता सम्मान कार्यक्रम’ आयोजना गर्दै २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ । मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए । कार्यक्रममा उपत्यकाका विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
किष्ट शिक्षण अस्पतालले विगत पाँच वर्षदेखि निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालका अनुसार हालसम्म २०२ जनामा मिर्गौला तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
अस्पतालले नेपालमै पहिलो पटक जटिल मानिने ‘ड्युल ट्रान्सप्लान्ट’ सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित ‘नेसनल जोइन्ट एनुअल रिभ्यु रिपोर्ट २०७९/८०’ मा समेत उक्त उपलब्धि उल्लेख गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अस्पतालले ‘पेयर एक्सचेन्ज ट्रान्सप्लान्ट’ तथा ल्यापारोस्कोपिक प्रविधिमार्फत प्रत्यारोपण शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको जानकारी दिएको छ । किष्ट शिक्षण अस्पतालले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरको बनाउने क्रममा अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकका लागि राष्ट्रिय मान्यता बोर्ड प्रमाणीकरणसमेत प्राप्त गरेको जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीया र सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन् । क्यान्सर पहिचान भएकी ८० वर्षीया महिलाले चिकित्सकीय रूपमा अंगदान योग्य भएपछि दिएको अंगबाट आफन्तको जीवन बचाउन सफल भएको अस्पतालले उल्लेख गरेको छ ।
कार्यक्रममा वक्ताहरूले अंगदानलाई ‘जीवनदान’ को महान कार्यका रूपमा व्याख्या गर्दै समाजमा अंगदानसम्बन्धी चेतना अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । अंगदाताको निस्वार्थ योगदानले धेरै बिरामीको जीवनमा नयाँ आशा र ऊर्जा थपेको भन्दै अस्पतालले सम्पूर्ण अंगदाता तथा उनीहरूका परिवारप्रति विशेष सम्मान व्यक्त गरेको छ ।


