
काठमाडौं । नेपाल क्लिनिकल प्याथोलोजिष्ट संघ (एसीपिएन) ले कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै जेठ ११ गते कटारी अस्पतालमा कार्यरत डा. साहमाथि भएको घटनालाई निन्दनीय तथा आपराधिक कार्यको संज्ञा दिएको हो ।
एसीपीएनका महासचिव डा. रोजन घिमिरेद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा इमान्दारितापूर्वक खटिएका स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार अस्वीकार्य भएको उल्लेख गरिएको छ ।
संघले घटनामा संलग्न दोषीहरूमाथि अविलम्ब कानुनी कारबाही गर्न तथा स्वास्थ्यकर्मीले सुरक्षित र त्रासरहित वातावरणमा सेवा प्रवाह गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
यस्तै, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरे स्वास्थ्य सेवा प्रवाहमै असर पर्न सक्ने भन्दै एसीपीएनले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।


