
काठमाडौं- धेरैजसो मानिसले मधुमेहलाई रगतमा चिनीको मात्रा बढ्ने सामान्य रोगका रूपमा मात्रै बुझ्ने गर्छन् । तर, यो शरीरका विभिन्न अंगमा गम्भीर असर गर्ने जटिल समस्या भएको चिकित्सकहरू बताउँछन् । विशेषगरी मधुमेहले दिमाग, नशा तथा स्नायु प्रणालीमा गहिरो असर पार्न सक्ने भएकाले यसलाई समयमै नियन्त्रणमा राख्न आवश्यक रहेको वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. घनश्याम खरेल बताउँछन् ।
उनका अनुसार मधुमेहका कारण शरीरका साना तथा ठूला रक्तनलीहरू प्रभावित हुन्छन् । दिमागमा जाने रक्तनली साँघुरो वा अवरुद्ध हुँदा पर्याप्त रगत र अक्सिजन पुग्न सक्दैन । यस्तो अवस्था लामो समय रहँदा स्ट्रोक, पक्षघात तथा स्मरणशक्ति कमजोर हुने समस्या देखिन सक्छ ।
“धेरै बिरामीमा एकाएक चक्कर लाग्ने, बोल्न गाह्रो हुने, हातखुट्टा कमजोर हुने वा बेहोस हुने जस्ता समस्या देखिन्छन्,” डा. खरेल भन्छन्, “यसको एउटा मुख्य कारण अनियन्त्रित मधुमेह पनि हुन सक्छ ।”
उनका अनुसार रगतमा सुगर अत्यधिक बढ्दा दिमागसम्म रगतको प्रवाहमा असर पुग्न सक्छ भने सुगर अत्यधिक कम हुँदा मस्तिष्कका कोषहरू नै क्षति हुनसक्छन् । यस्तो अवस्थामा बिरामी बेहोस हुने, छारे पर्ने तथा दीर्घकालीन रूपमा मस्तिष्कमा गम्भीर असर पर्ने जोखिम रहन्छ ।
स्मरणशक्तिमा असर, अल्जाइमरको खतरा
मधुमेहले स्मरणशक्तिलाई समेत कमजोर बनाउन सक्ने डा. खरेलको भनाइ छ । मधुमेहका बिरामीमा भिटामिन बी–१२ को कमी हुने सम्भावना बढी हुन्छ । यसले नसामा असर गर्नुका साथै बिर्सने समस्या बढाउन सक्छ ।
उनका अनुसार मधुमेह र डिमेन्सियाबीच पनि गहिरो सम्बन्ध देखिएको छ । दिमागका साना रक्तनलीहरू अवरुद्ध हुँदा अल्जाइमरजस्ता रोगको जोखिम बढ्न सक्छ । “बिस्तारै स्मरणशक्ति हराउने, दैनिक काम बिर्सिने, एउटै कुरा दोहोर्याइरहने जस्ता समस्या मधुमेहका बिरामीमा देखिन सक्छ,” उनले बताए ।
हातखुट्टा झमझमाउनेदेखि अटोनोमिक न्यूरोप्याथीसम्म
मधुमेहका कारण देखिने प्रमुख स्नायुसम्बन्धी समस्यामध्ये ‘डाइबेटिक न्यूरोप्याथी’ पनि एक हो । यसले हातखुट्टा झमझमाउने, पोल्ने, सुन्निने वा संवेदना कम हुने समस्या निम्त्याउँछ ।
कतिपय बिरामीमा ‘अटोनोमिक न्यूरोप्याथी’ समेत देखिन सक्छ । यस अवस्थामा शरीरका स्वचालित स्नायु प्रणाली प्रभावित हुन्छन् । जसका कारण दिशापिसाबमा समस्या, अत्यधिक वा कम पसिना आउने, मुटुको धड्कन गडबड हुने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ ।
डा. खरेलका अनुसार मधुमेहका बिरामीले कहिलेकाहीँ आँखाको नशामा असरका कारण दृष्टि गुमाउने जोखिम पनि सामना गर्नुपर्छ । “मधुमेहले शरीरको कुनै एक अंग मात्र होइन, मुटु, मिर्गौला, आँखा, दिमाग र नशा सबैलाई असर गर्न सक्छ,” उनले भने ।
नियमित परीक्षण र जीवनशैली सुधार आवश्यक
मधुमेह भएका व्यक्तिले नियमित रूपमा न्यूरोलोजिस्टसँग परामर्श लिनुपर्ने डा. खरेल सुझाउँछन् । विशेषगरी हरेक दुई वर्षमा नसासम्बन्धी परीक्षण गराउँदा सम्भावित जटिलता समयमै पहिचान गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार औषधि सेवन मात्रै पर्याप्त हुँदैन । मधुमेह नियन्त्रणका लागि दैनिक जीवनशैलीमा सुधार अनिवार्य छ । नियमित व्यायाम, सन्तुलित खानपान, पर्याप्त निद्रा, तनाव नियन्त्रण तथा नियमित स्वास्थ्य परीक्षणले रोगलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
“मधुमेह एउटा मात्रै रोग होइन, यसले शरीरका धेरै प्रणालीलाई असर गर्छ,” डा. खरेल भन्छन्, “त्यसैले समयमै नियन्त्रण र सचेतना नै यसको सबैभन्दा ठूलो उपचार हो ।”


