
काठमाडौं, २१ बैशाख । पूर्व सांसद एवं काँग्रेस नेता डा. सुनील शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजको दुवाकोटमा अवस्थित अस्पतालले विस्तापित भएका बिरामी सुकुम्बासीको निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै दुवाकोटको अस्पतालमा आउने बिरामीलाई निःशुल्क उपचार गर्ने जनाएको हो । वर्षाको मौसम सुरु भएको र बस्ती खाली गराउने क्राममा कैयन सुकुम्बासी बस्तीका बासिन्दाहरुमा स्वास्थ्य समस्या उत्पन्न भएका घटनाहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ ।
‘यो विषम परिस्थितिमा मानवीय समवेदनलाई मध्यनजर गर्दै पीडित सुकुम्वासीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन काठमाडौं मेडिकल कलेज दुवाकोटले अस्पताल सेवाहरुमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराउँछौं ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले अस्पताल सेवा निःशुल्क भनेपनि औषधि र औषधिजन्य वस्तुहरु भने बिरामीले नै खरिद गर्नुपर्ने विज्ञप्तिमा स्पष्ट पारिएको छ । काठमाडौं मेडिकल कलेजको सिनामंगल अस्पतालमा भने यो सेवा उपलब्ध छैन । कतिपयले भने दुवाकोटको अस्पतालमा बेडमात्र निःशुल्क गरिनुले अस्पताल चलाउने काइदामात्र देखिएको टिप्पणी गरेका छन् ।


