
काठमाडौं – “हाँसो नै उत्तम औषधि हो” भन्ने मूल सन्देशसहित आज विश्वभर ‘विश्व हाँसो दिवस’ मनाइँदैछ । प्रत्येक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै विश्व शान्ति, भ्रातृत्व र मित्रताको भावना फैलाउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो । पछिल्लो समय व्यस्त जीवनशैली र बढ्दो मानसिक तनावका बीच हाँसोले मानिसमा सकारात्मक ऊर्जा भर्ने र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ ।
यस दिवसको सुरुवात सन् १९९८ मा भारतका डा. मदन कटारियाले ‘लाफ्टर योग’ अभियानमार्फत गरेका थिए । विस्तारै यो अभियान विश्वभर फैलिँदै अहिले ‘विश्व हाँसो दिवस’का रूपमा स्थापित भएको हो ।
आजको अवसरमा विभिन्न संघ–संस्थाहरूले सार्वजनिक स्थलमा भेला भई सामूहिक हाँसो, योग तथा खुसी आदानप्रदानका कार्यक्रम आयोजना गरिरहेका छन् । यस्ता गतिविधिले मानिसलाई तनावमुक्त राख्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।



