
नेपालगन्ज- बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्स लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार योग शिविर चलिरहेको स्थानमा जाँदै गरेको अवस्थामा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो । दुर्घटनामा ज्यान गुमाएका भूमि लामिछाने योग गुरु समेत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा लामिछानेकी ५० वर्षीया पत्नी सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।
घटनापछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।


