
जय पाठक (जेपी), चितवन- नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत उपत्यका बाहिर सबैभन्दा बढी मतदान सहित चितवन शाखा पहिलो भएको छ ।
शुक्रवार र शनिवार गरी दुई दिनसम्म सञ्चालन भएको मतदान प्रक्रियामा देशभरका विभिन्न शाखाबाट कुल ४ हजार २ सय ४४ मत मध्ये चितवनमा सबैभन्दा बढी ५ सय ४८ मत खसेको संघले जनाएको छ ।
निर्वाचनको पहिलो र दोस्रो दुवैदिन चिकित्सकहरूको उत्साहजनक उपस्थिति देखिएको सो केन्द्रका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनमा भरतपुर अस्पतालको तालिम केन्द्रमा मतदान स्थल रहेको थियो ।
निर्वाचन अधिकृत डा. पौडेलका अनुसार निर्वाचनको पहिलो दिन शुक्रवार २ सय ६० मत खसेको थियो । त्यसैगरी, दोस्रो दिन शनिवार बिहान ९ बजेबाट मतदान सञ्चालन भएकोमा साँझ ६ बजेसम्म कुल २ सय ८८ मत खसेको थियो । चितवनमा सबैभन्दा बढी ५ सय ४८ मत खस्दा सबैभन्दा कम १८ मत डडेलधुरामा खसेको छ ।
त्यस्तै, नेपाल चिकित्सक संघको विभिन्न शाखागत विवरणअनुसार कोशीमा ५२५ र गण्डकीमा ४६६, जनकपुरमा ३७५, लुम्बिनीमा ३७३, नारायणीमा ३६८, धरानमा २१०, भेरीमा २०७ र सेतीमा २०६ मत खसेको छ ।

त्यस्तैगरी, काभ्रेमा १२९, दाङ्गमा १२६, बिर्तामोडमा १००, हेटौंडामा ९७, सुर्खेतमा ९५, पाल्पा ८८, जुम्ला र दमकमा समान ६५, लाहानमा ६४, राजविराजमा ४६, रौतहटमा ४३ र तनहुँ ३० मत खसेको छ ।
निर्वाचन समितिका अनुसार पहिलो दिन देशभरबाट कुल १ हजार ९ सय ४२ मत खसेको थियो भने दोस्रो दिन कुल २ हजार ३ सय २ मत खसेको थियो ।
काठमाडौं उपत्यका बाहिरका २२ वटा मतदान केन्द्रबाट शुक्रवार र शनिवार दुवैदिन सफलतापूर्वक मतदान कार्यक्रम सम्पन्न गरिएको प्रमुख निर्वाचन अधिकृत प्रा.डा. प्रणय रत्न शाक्यले जानकारी दिए । वैशाख १८ र १९ गते काठमाडौं उपत्यकामा हुने मतदान कार्यक्रममा पनि यसै प्रकारको सहयोग, सद्भाव, विश्वास र सहकार्यको उनले अपेक्षा समेत व्यक्त गरेका छन् ।


