

काठमाडौँ – सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाल चिकित्सक संघले त्यसको स्वागत गर्दै ‘स्वास्थ्यकर्मीका लागि पनि लागू गर’ भन्दै सरकारसँग माग अघि सारेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि अनिवार्य रूपमा दुई दिन बिदा सुनिश्चित गर्नुपर्ने बताएको हो।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा सोमबार जारी विज्ञप्तिमा चिकित्सक र स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा काम गर्न बाध्य भएको उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले हप्तामा ४२ घण्टा श्रम अवधि तोके पनि नेपालका धेरै स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति दैनिक २४ देखि ७२ घण्टासम्म लगातार ड्युटीमा खटिनुपर्ने अवस्था रहेको संघको भनाइ छ।
यस्तो चर्को कार्यचापका कारण स्वास्थ्यकर्मीहरूमा शारीरिक र मानसिक दुवै किसिमको तनाव बढ्दै गएको भन्दै संघले अन्य पेशाकर्मीसरह पर्याप्त आराम अनिवार्य भएको औँल्याएको छ।
संघका अनुसार हप्तामा दुई दिन बिदा लागू गरिए चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको कार्यक्षमता अझ बढ्नेछ र त्यसको प्रत्यक्ष लाभ बिरामीले गुणस्तरीय सेवाका रूपमा पाउनेछन्।
“गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि पर्याप्त विश्राम अपरिहार्य छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले हप्ताको दुई दिन बिदा दिने निर्णय स्वास्थ्यकर्मीहरूको हकमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गर्दछौँ।”
चिकित्सक संघले यस्तो व्यवस्था कार्यान्वयनमा आए स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल उच्च हुने र समग्र सेवा प्रवाहमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेको छ।



