
काठमाडौं – गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पतालको अनुगमन गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेलगत्तै उनी सिधै अस्पताल पुगेका थिए।
अस्पतालमा पुगेर मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्था जानकारी लिएका थिए। केही घाइते अझै होसमा नआएको कारण उनीहरूलाई अस्पतालमै राखी उपचार भइरहेको जानकारी पनि उनले प्राप्त गरे।
घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद व्यक्त गरेका थिए। डा. शर्माले सबै घाइतेहरूको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको र बिरामीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए।
राति करिब १० बजे अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए। हाल अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।




