गुल्मी- गुल्मी अस्पताल तम्घासमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।
रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया एक वृद्धामा देखिएको स्तन क्यान्सरको सफल अपरेशन गरिएको अस्पताल प्रशासनले जनाएको छ। आर्थिक अवस्थाबाट समेत पीडित ती वृद्धाको शल्यक्रियाले जिल्लामै नयाँ सम्भावना उजागर गरेको छ।
गुल्मी अस्पतालले पछिल्लो डेढ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। सोही क्रममा अस्पताल पुगेकी ती वृद्धामा क्यान्सरको शंका लागेपछि थप परीक्षणका लागि बुटवल पठाइएको थियो। आवश्यक परीक्षणपछि क्यान्सर पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग विशेषज्ञ शल्य चिकित्सक डा. सन्जय पाण्डेको नेतृत्वमा गुल्मीमै शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको डा. पाण्डेले जानकारी दिए। उनले क्यान्सर लागेपछि मृत्यु हुन्छ भन्ने समाजमा रहेको गलत धारणा तोड्न, अनावश्यक खर्च घटाउन र उपचारको झन्झट कम गर्न जिल्ला अस्पतालमै शल्यक्रिया गरिएको बताए। “समयमै उपचार पाए क्यान्सरले ज्यान लिँदैन, खर्च पनि धेरै हुँदैन। क्यान्सर लागेपछि निको हुँदैन भन्ने मानसिकता गलत हो,” उनले भने।
वृद्धाको शल्यक्रियाको सम्पूर्ण खर्च गुल्मी अस्पतालले व्यहोरेको थियो। शल्यक्रिया सफल भएपछि शनिबार अस्पताल प्रशासनले चिकित्सक टोली र बिरामीलाई सम्मान गरेको छ।
जिल्लामै पहिलो पटक स्तन क्यान्सरको शल्यक्रिया सफल भएसँगै अस्पतालप्रति नागरिकको विश्वास थप बढेको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए।
बिरामीका परिवारले पनि ठूलो राहत महसुस गरेका छन्। “बृद्धावस्थामा क्यान्सर आर्थिक र मानसिक रूपमा ठूलो बोझ थियो। आफ्नै जिल्लामा उपचार सम्भव हुँदा आमालाई सामान्य जीवनमा फर्काउन पाउँदा खुशी लागेको छ,” बिरामीकी नातिनी रेखा विश्वकर्माले भनिन्।
५० शय्यामा स्तरवृद्धि भएसँगै उपचार प्रविधि र जनशक्ति विस्तारले गुल्मी अस्पतालले सेवाग्राहीको विश्वास जित्दै गएको छ। अस्पतालबाट दैनिक सरदर २५० जनाले सेवा लिने गरेका छन्। बाल, हाडजोर्नी, प्रसुतीलगायत विशेषज्ञ सेवासँगै मिर्गौलाको डायलाइसिस सेवा पनि सुरु भइसकेको छ।
यद्यपि, अस्पतालको नयाँ भवन निर्माण ढिलाइ हुँदा सेवा विस्तारमा चुनौती देखिएको छ। दुई वर्षमा सम्पन्न हुनुपर्ने निर्माण कार्य साढे चार वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। रङरोगन, विद्युतीय काम तथा अन्तिम फिनिसिङ्गमा निर्माण व्यवसायी अल्झिँदा सेवा प्रवाह प्रभावित भइरहेको छ।
गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेका अनुसार अन्तिम पटक थपिएको म्याद गत पुस १६ गते सकिए पनि निर्माण कार्य अझै पूरा भएको छैन। भारत सरकारको पूर्ण आर्थिक सहयोगमा सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पामार्फत निर्माण भइरहेको उक्त भवनको ठेक्का २०७८ असार १८ गते स्वच्छन्द/बानिया जेभी, मकवानपुरसँग गरिएको थियो।







