
चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।
अस्पतालले चैत २५ गते आफ्नो ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जसको लागि अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ ।
वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, कविता प्रतियोगिता, स्वास्थ्य सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, वार्षिक प्रतिवेदन र स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान लगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए ।
यस अस्पतालको स्थापना वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ ।
नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं. २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ ।




