
काठमाडौं – धुम्बाराहीस्थित हाम्स अस्पतालले कोलोरेक्टल क्यान्सर सचेतना महिनाको अवसरमा निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको छ। विश्वभर मार्चलाई कोलोरेक्टल क्यान्सर सचेतना महिनाका रूपमा मनाइने परिप्रेक्ष्यमा, हाम्स अस्पतालले हरेक वर्षझैं यस वर्ष पनि जनचेतना र स्वास्थ्य जाँचको लागि विशेष अभियान सञ्चालन गरेको हो।
अस्पताल प्रशासनका अनुसार, शिविर १५ मार्चबाट सुरु भई २७ मार्चसम्म सञ्चालन हुनेछ। “कोलोरेक्टल क्यान्सरको उपचारमा सबैको समान पहुँच” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ संचालन हुने यस शिविरमा सहभागी हुनेहरूलाई प्रारम्भिक जाँच र विशेषज्ञ परामर्श निःशुल्क उपलब्ध गराइनेछ।
कोलोरेक्टल क्यान्सर ठूलो आन्द्रा (कोलोन) वा मलाशयमा सुरु हुने क्यान्सर हो, जुन पाचन प्रणालीको अन्तिम भागसँग सम्बन्धित छ। चिकित्सकहरूका अनुसार, यो क्यान्सर पछिल्लो समय बढ्दो स्वास्थ्य समस्या बनेको छ, तर समयमै पहिचान गरिएमा पूर्ण रूपमा उपचार सम्भव छ। विशेष गरी ५० वर्षभन्दा माथिका व्यक्तिहरू, परिवारमा क्यान्सरको इतिहास भएकाहरू र लामो समयदेखि पेट समस्या वा दिसामा रगत देखिने लक्षण भएका व्यक्तिहरू उच्च जोखिममा पर्छन्।
शिविरमा विशेष प्राथमिकता उनै बिरामीहरूलाई दिइनेछ जसमा दिसा बानीमा परिवर्तन, पेटमा असजिलोपन, रगतको कमी वा अकारण तौल घट्ने समस्या देखा परेको छ। २५औँ स्थापना वर्षको उपलक्ष्यमा, हाम्स अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।
शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले धुम्बाराहीस्थित अस्पतालमा सिधै सम्पर्क गर्न वा ०१-४३७७४०४ मा फोन गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्।




