काठमाडौं- पश्चिम नेपालमा सिकलसेलपछि सबैभन्दा धेरै देखिने थालेसिमिया रोगका बिरामीले अब सरकारबाट एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा थालेसिमियालाई पनि समेटेसँगै अब यस रोगका बिरामीले सरकारी आर्थिक सहयोग पाउने व्यवस्था भएको हो ।
यसअघि थालेसिमियाका बिरामी सरकारी उपचार सुविधाको दायराभन्दा बाहिर रहेका थिए । नयाँ व्यवस्थासँगै उनीहरूले औषधि, शल्यक्रिया, औषधिजन्य सामग्री तथा प्रयोगशाला सेवासमेत एक लाख रुपैयाँसम्म निःशुल्क प्राप्त गर्न सक्ने भएका छन् ।
सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहेका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले थालेसिमियाका बिरामीले अब भेरी अस्पतालबाटै सो सेवा लिन सक्ने जानकारी दिए ।
उहाँका अनुसार यसअघि मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाका बिरामीले मात्रै यो सुविधा पाउँदै आएका थिए ।
‘अब थालेसिमियाका बिरामीलाई पनि एक लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध भएपछि उनीहरूलाई ठूलो राहत मिल्नेछ,’ डा. पाण्डेले भने ।
भेरी अस्पतालका अनुसार सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया तथा सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सरकारी सुविधा पाउनेछन् ।
हाल भेरी अस्पतालमा थालेसिमियाका करिब १०० जना बिरामी नियमित फलोअपमा रहेका छन् । सरकारी उपचार सुविधा उपलब्ध भएपछि थालेसिमियाका बिरामीको यकिन तथ्यांक संकलन गर्न समेत सहज हुने डा. पाण्डेले बताए ।
उनका अनुसार भेरी अस्पतालमा सिकलसेल एनिमियाका एक हजार २०० जना बिरामी नियमित फलोअपमा रहेका छन् ।







