काठमाडौं- सर्लाहीको मलंगवामा हालसम्म साढे ८ हजारभन्दा बढी बालबालिकाले दादुरा विरुद्धको खोप लगाएका छन्। माघ १२ गतेदेखि सुरु गरिएको खोप अभियानअन्तर्गत हालसम्म ८ हजार ५७४ बालबालिकालाई खोप लगाइएको हो।
माघ १४ गते मात्र २ हजार ७८९ बालबालिकाले दादुरा विरुद्धको खोप लगाएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
दादुरा संक्रमण फैलिन नदिन मलंगवा नगरपालिकाभित्र ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन भइरहेको छ। नगरपालिकाका वडा नम्बर २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा दादुरा विरुद्धको खोप अभियान सुरु गरिएको हो।
नगरपालिकाका अनुसार वडा नम्बर ३ र ४ मा भेटिएका २७ जना शंकास्पद बिरामीमध्ये ७ जनामा दादुरा संक्रमण पुष्टि भएको थियो। हाल भने ती वडाहरूमा दादुरा संक्रमण नियन्त्रणमा आएको जनाइएको छ।
Last Modified Date: २०८२ माघ १६, शुक्रबार







