काठमाडौं- नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस समेटिएको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार कुल ९४३ परीक्षार्थीमध्ये ३७२ जनाले मात्रै परीक्षा उत्तीर्ण गरे । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको थियो ।
लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसतर्फ गरी ९६७ जनाले आवेदन दिएका थिए । तर तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको डा. देवले जानकारी दिए ।
एमबीबीएसतर्फ ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये ३०० जना मात्र उत्तीर्ण भएका छन्, जसको प्रतिशत ३८.७ रहेको छ ।
यस्तै बीडीएसतर्फ १७४ जनाले आवेदन दिएका थिए । परीक्षामा भने १६८ जना सहभागी भएका थिए, जसमध्ये ७२ जना अर्थात् ४२.८५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
यसपटकको नतिजाले चिकित्साशास्त्र अध्यापन गराउने विश्वविद्यालय तथा मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ । तर रजिष्ट्रार डा. देवले भने यसपटक अनुत्तीर्ण भएकाहरूको भन्दा अघिल्ला परीक्षामै फेल भएका परीक्षार्थीहरूको संख्या बढी रहेको दाबी गरेका छन् ।







