काठमाडौं- युट्युब च्यानलमा देखाइएको तौल घटाउने उपायको विश्वास गरेर बोरेक्स सेवन गरेपछि तमिलनाडुको मदुरैस्थित एक कलेजकी छात्राको मृत्यु भएको छ । मृतक छात्रा मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कलैयारसी निजी कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार उनको तौल केही बढी भएकाले तौल घटाउने उद्देश्यले उनले युट्युब च्यानलमा गरिएको दाबीका आधारमा स्थानीय औषधि पसलबाट बोरेक्स खरिद गरेकी थिइन् । तौल घट्छ भन्ने आशामा उनले उक्त पदार्थ सेवन गरेकी थिइन् ।
सेवन गरेको केही समयमै उनलाई तीव्र वान्ता सुरु भयो र उनी बेहोस भइन् । त्यसपछि उनलाई एक निजी अस्पताल लगियो, जहाँ उपचारपछि घर पठाइएको थियो । तर राति फेरि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई मदुरैको सरकारी राजाजी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘सिद्ध चिकित्सा’ अभ्यास गर्ने चिकित्सकहरूका अनुसार बोरेक्स अत्यन्तै विषालु रसायन हो । परम्परागत औषधि निर्माण गर्दा समेत यसको प्रयोग अत्यन्तै सानो मात्रामा मात्रै गरिन्छ । रसायनशास्त्रका प्राध्यापकहरूले सोडियम बोरेट, जसलाई सामान्य भाषामा बोरेक्स भनिन्छ, कीटनाशकसरह विषाक्त पदार्थ भएको बताएका छन् ।
विशेषज्ञहरूका अनुसार यो त्यही सेतो मसिनो पाउडर हो, जुन क्यारम बोर्डमा प्रयोग गरिन्छ । ‘यो नुनजस्तै देखिने पाउडर हो । कतिपय सौन्दर्य सामग्रीमा पनि सानो मात्रामा मिसाइन्छ,’ एक विशेषज्ञले भने । उनले उदाहरण दिँदै भने, ‘हामी औषधिमा सानो मात्रामा जिंक प्रयोग गर्छौं, तर जिंक सिधै खाइयो भने ब्लीच खाएजस्तै असर गर्छ । बोरेक्स पनि त्यस्तै हो ।’
घटनापछि एलोप्याथिक र सिद्ध चिकित्सा प्रणालीका चिकित्सकहरूले चिकित्सा उपचारसम्बन्धी भ्रामक जानकारी फैलाउने युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।







