काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सेलुलाइटिस भएको पुष्टि भएको छ। टिचिङ अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।
अस्पतालका चिकित्सकका अनुसार सेलुलाइटिस छालाको भित्री तहसम्म हुने संक्रमण हो। छालाभित्र कीटाणुको संक्रमण फैलिँदा प्रभावित स्थान सुन्निने, रातो देखिने, दुख्ने तथा तातो महसुस हुने लक्षण देखिन्छ।
अस्पतालले हाल लामिछानेलाई संक्रमण नियन्त्रणका लागि नसाबाट एन्टिबायोटिक दिइरहेको जनाएको छ। उनी हाडजोर्नी विभाग अन्तर्गत भर्ना छन् भने अन्य स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ।
लामिछानेलाई जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा देब्रे खुट्टामा चोट लागेको थियो। सोही चोटका कारण संक्रमण बढेर सेलुलाइटिस भएको जनाइएको छ।
यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू टिचिङ अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले भ्रामक सूचना नफैलाउन अनुरोध गरेको छ।
अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाइँका अनुसार लामिछानेलाई अझै दुईदेखि चार दिनसम्म उपचार आवश्यक पर्नेछ।







