सर्लाही- सर्लाहीको मलङ्वा नगरपालिकामा २३ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा विशेष खोप अभियान सुरु गरिएको छ। दादुरा देखिएको मलङ्वा नगरपालिका–३ तथा त्यससँग जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन थालिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३ सहित सिमाना जोडिएका ६ वटा वडाका करिब आठ हजार बालबालिकालाई खोप लगाइनेछ। गत पुस २४ गते मलङ्वा नगरपालिका–३ को मुस्लिम टोलमा पाँच वर्षीय एक बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको थियो। प्रयोगशाला परीक्षणबाट ती बालकमा दादुरा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २३ जनामा दादुरा सङ्क्रमण देखिएको डा. झाले जानकारी दिए। नगर स्वास्थ्य शाखाका अनुसार सङ्क्रमण पुष्टि भएका सबै बालबालिका छ महिनादेखि ११ वर्ष उमेर समूहका छन्। हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले बताए।
दादुरा सङ्क्रमण पुष्टि भएपछि परिवार कल्याण महाशाखा टेकुको निर्देशन तथा राष्ट्रिय खोप समन्वय समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य कार्यालय प्रमुख डा. झाले राष्ट्रिय खोप समन्वय समिति, मधेस प्रदेश स्वास्थ्य मन्त्रालय र मलङ्वा नगरपालिकासँग नजिकबाट समन्वय भइरहेको बताए।
संक्रमित क्षेत्रहरूमा एकैसाथ खोप अभियान र खोजी अभियान सञ्चालन भइरहेको छ। साथै सर्वसाधारणलाई दूरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न तथा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सूचना र घरदैलो कार्यक्रममार्फत जानकारी गराइएको छ।
यसअघि दुई वर्षअघि पनि यसै नगरपालिकामा एक जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको भए पनि परीक्षण नगरी उपचारपछि निको भएको डा. झाले बताए। त्यसयता दादुराका बिरामी नदेखिएको भए पनि यसपटक एक्कासि देखिएको सङ्क्रमणले सम्भावित स्वास्थ्य महामारीको जोखिम बढाएको उनको भनाइ छ।
प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), युनिसेफ, मधेस प्रदेश जनस्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र मलङ्वा नगरपालिकाको समन्वयमा विशेष खोप कार्यक्रम सञ्चालन गरिएको हो।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार यही माघ १६ गतेसम्म लक्षित आठ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइनेछ। स्वास्थ्यकर्मीको टोली विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरिसकेको छ। मंगलबारसम्म ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइसकिएको नगर स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए।
नियमित दादुरा–रुबेला खोप लगाइसकेका बालबालिकालाई पनि यस विशेष खोप अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ। नेपालमा दादुरा उन्मूलन भइसकेको घोषणा भइसकेपछि पनि पुनः सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चासो देखाएको छ।
चिकित्सकका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक रोग हो, जुन श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने गर्दछ। दादुरा सङ्क्रमित व्यक्तिले १२ देखि १८ जनासम्मलाई रोग सार्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।
दादुरा लागेको बालबालिकामा सुरुमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो तथा रसाउने र तीनदेखि पाँच दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा देखिने लक्षण देखिन्छ। दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनामा दुई पटक खोप लगाउनुपर्ने चिकित्सकले बताएका छन्। खोप लगाउन छुटेका बालबालिकामा दादुरा लाग्ने जोखिम उच्च रहने उल्लेख गरिएको छ।







