काठमाडौँ- जाडोयाममा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र विभिन्न रोगहरूको जोखिम बढ्ने गर्छ। विशेषगरी यस मौसममा रुघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या बढी देखिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु आवश्यक हुन्छ।
विज्ञहरूका अनुसार दैनिक खानपानमा समावेश गरिने पोषक तत्त्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछन्। आहारमा केही विशेष खानेकुराहरू समावेश गरेमा जाडोयाममा हुने रोगहरूबाट बच्न सकिन्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन बेसारलाई प्रभावकारी मानिन्छ। बेसार ओस्टियोआर्थराइटिस र रुमेटोइड आर्थराइटिसजस्ता समस्यामा इन्फ्लेमेटरी औषधिको रूपमा वर्षौँदेखि प्रयोग हुँदै आएको छ। विज्ञहरूका अनुसार बेसारमा पाइने कर्क्युमिन नामक तत्त्वले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। जाडोमा दूधमा बेसार मिसाएर पिउनु फाइदाजनक हुन्छ।
अदुवालाई पनि जाडोयाममा स्वास्थ्यका लागि वरदानका रूपमा लिइन्छ। अदुवाले घाँटी दुखाइ र खोकीबाट राहत दिन मद्दत गर्छ। साथै, यसले वाकवाकी कम गर्नुका साथै पुरानो दुखाइ घटाउन पनि सहयोग पुर्याउँछ। अदुवामा क्याप्साइसिन नामक तत्त्व पाइन्छ, जसले शरीरलाई तातो राख्न र प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्छ।
जाडोमा बदामलाई ‘सुपरफुड’ मानिन्छ। आहारविद्का अनुसार चिसो मौसममा बदामको नियमित सेवनले शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। यसैगरी, दैनिक सख्खरको सेवनले पनि शरीरको रोगसँग लड्ने क्षमता बढ्ने विश्वास गरिएको छ। जाडोयाममा महको सेवन गर्नु पनि निकै लाभदायक मानिन्छ।
लसुनलाई रुघाखोकीबाट बच्ने प्राकृतिक औषधिका रूपमा लिइन्छ। लसुनले खानाको स्वाद बढाउनुका साथै लामो समयदेखि औषधीय गुणका कारण प्रयोग हुँदै आएको छ। यसमा पाइने तत्वहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर विभिन्न संक्रमणबाट बचाउन मद्दत गर्छन्। जाडोयाममा लसुनको नियमित सेवन उपयोगी मानिन्छ।
यसैगरी, जाडोयाममा सिट्रस वर्गका फलफूलको सेवन पनि अत्यन्त लाभदायक हुन्छ। सुन्तला, कागती र अङ्गुरजस्ता फलफूलमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। विज्ञहरूका अनुसार जाडोमा फलफूल र हरियो तरकारीको पर्याप्त सेवनले स्वास्थ्यलाई थप सुदृढ बनाउँछ।








