काठमाडौँ- धेरै मानिसले बिहान आँखै खुल्नेबित्तिकै टाउको दुख्ने समस्या भोग्ने गरेका छन्। कसैलाई हल्का दुखाइ हुन्छ भने कसैलाई असह्य पीडा, जसले दिनको सुरुवात नै निरस बनाइदिन्छ।
विशेषज्ञहरूका अनुसार बिहानको टाउको दुखाइ सधैँ थकानकै कारण हुँदैन। यसका पछाडि विभिन्न आन्तरिक शारीरिक तथा मानसिक कारणहरू लुकेका हुन सक्छन्। समयमै ध्यान नदिँदा यो समस्या दीर्घकालीन रोगको संकेतसमेत बन्न सक्ने चिकित्सकहरू बताउँछन्।
बिहान टाउको दुख्नुका मुख्य कारणहरू यस प्रकार छन्:
१. अपर्याप्त वा बिग्रिएको निद्रा
राति पर्याप्त निद्रा नपुग्नु, बारम्बार निद्रा भंग हुनु वा अबेरसम्म मोबाइल फोन र ल्यापटप प्रयोग गर्नाले दिमागमा तनाव बढ्छ। यसले स्नायु प्रणाली प्रभावित हुँदा बिहान उठ्नेबित्तिकै टाउको दुख्ने समस्या देखिन सक्छ।
२. तनाव र मानसिक दबाब
मानसिक तनाव र दबाबका कारण शरीरका मांसपेशीहरू कडा हुन्छन्। यसले रगतको बहावमा असर पार्दै ‘टेन्सन हेडएक’ निम्त्याउन सक्छ, जसको पीडा प्रायः बिहान महसुस हुन्छ।
३. माइग्रेन
माइग्रेनका बिरामीहरूमा बिहान टाउको दुख्नु सामान्य मानिन्छ। निद्राको कमी, खाली पेट सुत्नु, मौसमको परिवर्तन वा हार्मोनल असन्तुलनले माइग्रेनलाई ट्रिगर गर्न सक्छ, जसले बिहानैदेखि तेज दुखाइ गराउँछ।
४. स्लीप एपनिया
स्लीप एपनिया पनि बिहानको टाउको दुखाइको प्रमुख कारण हो। यस अवस्थामा निद्राका बेला सास बारम्बार रोकिन्छ, जसका कारण शरीरले पर्याप्त अक्सिजन पाउँदैन। फलस्वरूप, उठ्नेबित्तिकै टाउको दुख्ने, रिँगटा लाग्ने र भारीपन महसुस हुन सक्छ। ठूलो स्वरमा घुर्नु यसको प्रमुख लक्षण मानिन्छ।
५. डिहाइड्रेसन (शरीरमा पानीको कमी)
राति पर्याप्त पानी नपिउँदा शरीर डिहाइड्रेसनमा जान सक्छ। यसले रक्तनलीहरू खुम्चिनुका साथै दिमागमा पुग्ने अक्सिजनको मात्रा घटाउँछ, जसका कारण बिहान टाउको दुख्ने समस्या देखिन सक्छ।
६. रक्सी वा क्याफिनको असर
राति रक्सी सेवन गर्दा निद्राको गुणस्तर बिग्रिन्छ, जसको असर बिहान टाउको दुखाइको रूपमा देखिन सक्छ। त्यसैगरी, नियमित क्याफिन सेवन गर्ने व्यक्तिले अचानक क्याफिन बन्द गर्दा पनि ‘क्याफिन विड्रअल हेडएक’ हुन सक्छ।
डाक्टरको सल्लाह लिनु आवश्यक
यदि तपाईंलाई हरेक बिहान टाउको दुख्ने समस्या भइरहेको छ, दुखाइ अत्यधिक छ, वा यससँगै रिँगटा लाग्ने, सास फेर्न गाह्रो हुने, आँखा धमिलो देखिने जस्ता लक्षण देखापर्छन् भने ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ।









