काठमाडौं- नेपाल चिकित्सक संघले युरोप–नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त गरेको छ।
सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गरेको हो। युरोपमा सक्रिय नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कारस्वरूप संघलाई एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको जनाएको छ।
सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार, सुविधा तथा भत्ताहरू सुनिश्चित गर्न संघले खेलेको भूमिका र गरेको संघर्षको कदर गर्दै यो सम्मान प्रदान गरिएको सोसाइटीले स्पष्ट पारेको छ।
अवार्ड ग्रहण कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले यस सम्मानले संघलाई थप जिम्मेवारीबोध गराएको र आगामी दिनमा अझ सक्रिय रूपमा काम गर्ने हौसला बढाएको बताए।
कार्यक्रममा प्रा. डा. अञ्जनी कुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, डा. प्रमोद जोशी, डा. लोचन कार्की, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुसाल, डा. रमेश कान्त अधिकारी, डा. बुद्धिमान श्रेष्ठ, डा. अनिल भट्टराईलगायतको उपस्थिति रहेको थियो।
संस्थाको खोज, अनुसन्धान तथा विज्ञान विभागका निर्देशक डा. कौशल किशोर तिवारीले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै यस्ता अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए।
सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपालमा स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्दै आइरहेको जनाएको छ।









