काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ।
चीनमा निर्मित ‘फोटोन’ ब्रान्डको विद्युतीय सवारी साधन अस्पताललाई हस्तान्तरण गरिएको हो। उक्त सवारी साधनले अस्पतालको सेवा प्रवाह सहज बनाउने र स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो सहयोग चिनियाँ दूतावासले नेपालमा सञ्चालन गर्दै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत प्रदान गरिएको हो। दूतावासका अनुसार उक्त परियोजनामार्फत स्वास्थ्य, शिक्षा तथा समुदायस्तरका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइएको छ।
‘सुखी समुदाय’ परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम भएको चिनियाँ दूतावासले जनाएको छ। आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्दै जाने दूतावासको भनाइ छ।









