काठमाडौं- बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सीमित स्रोत–साधनका कारण प्रदेशका अस्पताल सञ्चालनमा चुनौती बढेको बताएका छन्।
हेटौँडामा प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको एक जिल्ला एक स्वास्थ्य सहर तथा एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमका स्वास्थ्य सहजकर्ता एवम् सरोकारवालासँगको पैरवी, समन्वय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्य सेवा व्यवस्थित बनाउन तीनै तहका सरकारबीच दृढ सहकार्य अपरिहार्य रहेको बताए।
उनका अनुसार तीन तहले छुट्टाछुट्टै कार्यक्रम बनाउँदा दोहोरोपन देखा परिरहेको छ। “यदि जनप्रतिनिधि तीनै तह एकै ठाउँ बसेर योजना बनायौँ भने दोहोरोपन हट्छ,” मन्त्री थापाले भने।
प्रदेश सरकारले पठाएको सशर्त बजेट धेरै स्थानीय तहमा खर्च नहुने गरेको भन्दै उनले केन्द्र, प्रदेश र स्थानीय तहले स्पष्ट योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
मन्त्री थापाले वाग्मती सरकारले स्वास्थ्य क्षेत्रका लागि धेरै काम गरे पनि आवश्यकता अनुसार अझै अपर्याप्त रहेको उल्लेख गरे। स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत उपकरण र जनशक्ति प्रदेश सरकारले पठाइरहेको तथा प्रदेशस्तरीय अस्पतालमा सेवा विस्तार भइरहेको जानकारी उनले दिए।
उनले स्थानीय सरकारलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताउँदै भने, “प्रत्यक्ष भेटिने सरकार स्थानीय हो, देखिने सरकार प्रदेश हो, लेखिने सरकार संघीय हो।”
यस वर्षदेखि वाग्मती प्रदेश सरकारले ५० जना डाक्टर पठाउने गरी शैक्षिक कार्यक्रम सुरु गरेको उल्लेख गर्दै उनले उत्पादन हुने डाक्टरहरूलाई प्रदेशभित्रका स्थानीय तहका अस्पतालमा पठाइने बताए। हाल पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई गाउँका अस्पतालमा परिचालन भइरहेको उनले स्पष्ट पारे।
जनताको माग भौतिक पूर्वाधारतर्फ बढी केन्द्रित देखिए पनि अब स्वास्थ्य क्षेत्रको बजेटलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको मन्त्रीमण्डलको भनाइ छ। स्वास्थ्य सहरको अवधारणा अघि बढाइएका कारण लगानी पनि त्यहीअनुसार बढाउनुपर्नेमा थापाले जोड दिए।








