
काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाले उत्पादन गरेको ‘रेक्सामोल’ औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ।
बुधबार जारी सूचनामा विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर TRX–695 न्यून गुणस्तर भएको पुष्टि भएको भन्दै औषधि ऐन, २०३५ को दफा १४ अनुसार बिक्री–वितरण रोक्का गर्न आदेश दिएको छ। साथै, उक्त ब्याचका सबै औषधि बजारबाट तुरुन्तै फिर्ता लैजान कम्पनीलाई आग्रह गरिएको छ।
बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाहरू राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो ब्याचको औषधि न्यून गुणस्तरीय रहेको पाइएको विभागले जनाएको छ।
विभागले उक्त ब्याचका औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न सबै चिकित्सक, स्वास्थ्यकर्मी, औषधि पसल तथा उपभोक्तालाई आग्रह गरेको छ।




