
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वीर अस्पतालको सेवा अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। सोमबार वीर अस्पतालको निरीक्षणपछि उनले अस्पतालले निजी क्षेत्रभन्दा पनि प्रभावकारी सेवा दिइरहेको उल्लेख गर्दै सेवाको गुणस्तर अझ उकास्न सरकार सदैव सहयोगी हुने बताइन्।
मन्त्री गौतमले अस्पतालमा आउने बिरामीहरूको केही गुनासा अझै रहने भएकाले ती समस्याहरूलाई शीघ्र समाधान गर्दै सेवा सुधारमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिइन्। साथै उपचारका लागि आवश्यक सामानहरू समयमा नै खरिद गर्नुपर्नेमा पनि उनले विशेष जोर दिइन्। दरबन्दीसम्बन्धी समस्या समेत समाधान गरिने बताउँदै उनले यस विषयमा मन्त्रालय गम्भीर भएको उल्लेख गरिन्।
निरीक्षणका क्रममा वीर अस्पतालका अधिकारीहरूले शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको जानकारी दिए। अस्पतालमा आइसियु र एचडियु गरी ११० बेडको व्यवस्था मिलाइएकाे पनि उनीहरूले बताए।
अधिकारीहरूले जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको गुनासो राखे। निरीक्षणका क्रममा मन्त्री शर्माले अस्पतालको पुरानो तथा नयाँ भवनबाट भइरहेको सेवा–व्यवस्थाको अवस्थाबारे जानकारी लिँदै केही बिरामीका गुनासो पनि सुनेकी थिइन्।


