काठमाडौँ – स्वास्थ्य सचेतना र सक्रिय जीवनशैली प्रवर्द्धनको उद्देश्यसहित आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइएकाे छ। काठमाडौंको ह्याम्स अस्पतालले दिवसको अवसरमा विशेष वाकाथन कार्यक्रम आयोजना गरेको थियो।

अस्पतालबाट सुरु भएको र्याली धुम्बाराही र सुकेधारा हुँदै नारायणगोपाल चोक पुगेर पुनः अस्पतालमै टुंगिएको थियो। कार्यक्रमको प्रारम्भमा मधुमेह विशेषज्ञ डा. विनय भट्टराईले मधुमेह रोगका बिरामीहरूले समयमै रगतको सुगर जाँच गराउनुपर्नेमा जोड दिए। उनका अनुसार धेरैजसो बिरामीमा प्रारम्भिक लक्षण देखिँदैन, तर बेलैमा व्यवस्थापन नगरे रोगले जटिलता निम्त्याउन सक्छ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक, विभिन्न विभागका चिकित्सक तथा कर्मचारीहरूको उपस्थितिले जनचेतनालाई थप सुदृढ बनाएको थियो। वाकाथनले सहभागीहरूमा शारीरिक गतिविधि र स्वस्थ जीवनशैलीको महत्त्वको संदेश पनि प्रवाह गरेको छ।

विश्व मधुमेह दिवस सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइँदै आएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जुन सन् १९८० को तुलनामा उल्लेखनीय रूपमा बढेको हो। मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीले मधुमेहको दर विश्वभर बढाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विशेषज्ञहरूले सन्तुलित आहार, नियमित व्यायाम, र धूमपान–मद्यपानबाट टाढा रहनु मधुमेह रोकथामका प्रभावकारी उपाय भएकोमा जोड दिएका छन्।








