सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाबाट आठ दिनको अवधिमा ३ जनाको मृत्यु भएपछि हैजा पुष्टि भएको छ। तर संक्रमणको स्रोत भने अझै पहिचान हुन सकेको छैन।
कात्तिक ६ गते ३३ वर्षीय बुचन सदाका एक वर्षीय छोरा सञ्जीवको झाडापखालाबाट मृत्यु भयो। एक हप्तापछि कात्तिक ११ मा उनका ६६ वर्षीय बुबा लक्ष्मण र कात्तिक १४ मा चार वर्षीया छोरी राघिनीको पनि निधन भएपछि गाउँपालिकाले अवस्था गम्भीर भएको बुझ्यो।
गाउँपालिकाले जीवनजल, औषधि वितरण तथा २४ घण्टा स्वास्थ्यकर्मी परिचालन गरेको छ। अहिलेसम्म ११ जनाको आरडीटी परीक्षण गर्दा पाँचमा हैजा भेटिएको छ, जसको कल्चर रिपोर्टले पनि पुष्टि गरेको छ। तर शुद्ध खानेपानी वितरण सुरु हुन सकेको छैन। सोमबार ल्याइएका ३०० बोतल पानी अझै स्वास्थ्य चौकी लोखरममै थुपारिएको छ।
शौचालयविहीन टोलमा अधिकांश बासिन्दा खुला स्थान, पोखरी किनार, झाडी र खेतबारीमा दिसापिसाब गर्न बाध्य छन्। बुधबार फेर मेडको सहायतामा सबल नेपालले किटनाशक छरे पनि सरसफाइ निरन्तर हुन सकेको छैन।

हालसम्म ४४ जना उपचारपछि घर फर्किएका छन् भने १८ जनामा झाडापखाला देखिएको छ। सात जनाको गजेन्द्र नारायण सिंह अस्पतालमा, दुईको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गाउँपालिकाले सात पानी नमूना जनकपुर पठाएको भए पनि रिपोर्ट आइसकेको छैन। शुक्रबारदेखि शुद्ध पानी वितरण गर्ने तयारी गरिएको छ।
स्वास्थ्य सेवा विभागले एक चिकित्सक पठाएर उपचार र तथ्यस्थिति बुझिरहेको छ।








