
जनकपुरधाम–ढल्केवर सडक खण्डमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्। बुधबार रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा स्वास्थ्यकर्मीहरूले सडकमा बसेर विभिन्न माग राख्दै आन्दोलन जारी राखेका हुन्।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नभएपछि बाध्य भएर सडकमा प्रदर्शन गर्नुपरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब, करार कर्मचारीलाई हटाएर लोकसेवाबाट नियुक्ति, स्वास्थ्यकर्मीको बीमा र सुरक्षा, हप्ताको ४२ घण्टा मात्रै कार्य लगायत आठ बुँदे माग राखेका छन्। उनीहरूका अनुसार मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले तिनीहरूलाई कार्यान्वयन नगरेको छ।


