
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर बस्तीमा फैलिएको झाडापखालाका बिरामीमध्ये अहिले पाँच जनाको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार कुल १६ जनामध्ये बाँकी ११ जना उपचारपछि घर फर्किसकेका छन्।
अस्पतालमा उपचारका लागि आएका नौ जनाको नमूना परिक्षणका लागि पठाइएको थियो, जस मध्ये चार जनामा प्रारम्भिकरूपमा हैजाको संक्रमण देखिएको छ। तर, यो आरडीटी परीक्षणबाट मात्र पुष्टि भएकाले हैजाको यकिनका लागि थप कल्चर परीक्षण आवश्यक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चन्द्र भाल झाले जानकारी दिनुभयो।
केही दिनभित्रै कल्चर रिपोर्ट आउने र त्यसपछि मुसहर बस्तीमा फैलिएको रोग हैजा हो वा सामान्य झाडापखाला हो भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ।
छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्रप्रसाद यादवका अनुसार जनचेतनाको अभाव र सरसफाइको कमी यस बस्तीमा प्रमुख समस्या बनेको छ। खुल्ला शौच अझै सामान्य प्रचलनमा रहेको र स्वास्थ्य संस्था नजिकै भए पनि स्थानीयहरू घरेलु उपचार र निजी क्लिनिकमा निर्भर हुने गरेको बताइन्छ। केही समयअघि यही बस्तीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको ज्यान गएको थियो।
यसैबीच, गाउँपालिकाले हाल सरसफाइ सुधार र खानेपानीको सुरक्षित प्रयोगबारे जनचेतनामूलक अभियान सुरु गरेको छ।


