काठमाडौं- योगी नरहरीनाथको सानिन्ध्यमा दीक्षा प्राप्त गरेका राजाराम पाण्डेले नेपालमै पहिलोपटक ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक प्रकाशन गरेका छन् ।
घटस्थापनाको अवसर पारेर ध्वनी चिकित्सामा ३० वर्ष लामो अनुभव भएका पाण्डेले ३ सय ६८ पृष्ठको पुस्तक ध्वनी चिकित्सा लोकार्पण गरेका हुन् ।प्राचीन प्राकृतिक चीकीत्सा तथा ध्वनी चीकीत्सा केन्द्र सिनामंगलमा आयोजित एक कार्यक्रममा पञ्चकन्याले पुस्तकको लोकार्पण गरेका हुन् । नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेको ऊर्जा चिकित्सा एवं ध्वनी चिकित्सालाई विश्वव्यापी बनाउन योगी नरहरीनाथ र पाण्डेले विश्वविद्यालय सञ्चालनमा ल्याउन ३ दशकअघि नै प्रयास गरेपनि विविध कारणले सो सम्भव भएको थिएन ।

पाण्डे विगत लामो समयदेखि नेपाल र विश्वभर भ्रमण गरेर ध्वनी चिकित्सा सेवा विस्तार र प्रवर्द्धनमा क्रियाशिल छन् । ध्वनी चिकित्साले मूलतः तनमय शरीर र मनमय शरीरका विविध समस्यालाई समाधान गर्ने उनको भनाइ छ । साउण्ड बलको प्रयोग गरि लयवद्ध ध्वनी शरीरमा प्रशारित गराई उपचार गर्ने गरिन्छ । जसले गर्दा टाउकोदेखि खुट्टासम्मको दुखाईका विभिन्न समस्या, नशा, हड्डी च्यापिएका समस्या लगायत मानसिक समस्याहरु डिप्रेशन, एन्जाइटी, अनिद्रा, डिमेन्सिया, अन्जाइमर्स डिजिजहरुमा ध्वनी चिकित्सा प्रभावकारी हुने पाण्डेको भनाइ छ ।

मानिसको शरीरमा हुने ७ वटा चक्रमा आधारित भएर ध्वनी चिकित्साको उपचार हुने गरेको छ । मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्धी चक्र, आज्ञा चक्र र सहस्रार चक्रका आधारमा ध्वनीले थेरापी दिँदा कल्पनै नगरेका समस्यापनि समाधान हुने भन्दै लेखक पाण्डेले विश्वभर ध्वनी चिकित्साको माग उच्च रहेको बताए ।
‘नेपालमा पनि पछिल्लो समय ध्वनी थेरापीको प्रचलन बढेको छ । ध्वनी चिकित्सामा संलग्न र संलग्न हुन चाहानेहरुका लागि पुस्तक सहयोगी हुने भएकाले लामो समयको मेहेनतबाट पुस्तक निकालेको छु । यो हाम्रो प्राचिन परम्परा हो । यसलाई दस्तावेजीकरण गर्न पाएकोमा हर्षित छु ।’ पाण्डेले बताए ।
ध्वनी चिकित्सा पुस्तक घटस्थापनादेखि नै बजारमा उपलब्ध हुने उनले बताए ।








