काठमाडौं- स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ। उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप रहेको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी थालेकी छन्।
प्रधानमन्त्री कार्कीले आइतबार मात्रै स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर मिश्रा ‘विवादित पात्र’ भएको जानकारी प्राप्त भएपछि प्रधानमन्त्रीले तत्काल ‘होल्ड’ गर्न निर्देशन दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
त्यसै दिन प्रधानमन्त्री कार्कीले मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रालयमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रालयमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। तर सिफारिस विवादास्पद बनेपछि मन्त्रिपरिषद् विस्तार तत्काल स्थगित भएको हो। अब विस्तार आज दिउँसो २ बजे शपथ ग्रहणसहित हुने तयारी गरिएको छ।

मन्त्री बन्ने अपेक्षामा अतिरिक्त सचिवबाट राजीनामा दिएकी मिश्राले यसअघि स्वास्थ्य सचिवमा नियुक्ति नपाएपछि लामो समयसम्म विदा बसेकी थिइन्। वरिष्ठता मिचिएको भन्दै उनले सर्वोच्च अदालतमा समेत रिट दायर गरेकी थिइन्।
जेनजी आन्दोलनका कारण तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल पदमुक्त भएपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्राले गत बिहीबार मात्र मन्त्रालयमा पुनरागमन गरेकी थिइन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेकी छन्। उनी स्वास्थ्य सेवाकी उच्च तहकी (१२औं तह) अधिकारी हुन्।








