काठमाडाैं- भदौ २४ गते सामाजिक सञ्जालमा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कुटिएको भन्दै भाइरल बनेको भिडियोले देशभर हलचल मच्चायो । तर वास्तविकता अर्कै थियो। कुटिने व्यक्ति मन्त्री नभई घाइते आन्दोलनकारीलाई निःशुल्क उपचार गराइरहेका ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन थिए ।

गुल्मीका स्थायी बासिन्दा टण्डन हाल काठमाडौंमा बस्दै आएका छन् । उनले आन्दोलनका घाइतेलाई २३ गतेदेखि नै आफ्नै अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए । त्यस क्रममा २४ गते बिहान रगत अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेर २१८ प्वाइन्ट रगत संकलनसमेत गरेका थिए । तर मनमोहन अस्पतालमा घाइते पुर्याएर फर्कने क्रममा आन्दोलनकारीले उनलाई अर्थमन्त्री पौडेल भनेर गलत बुझेर निर्घात कुटपिट गरे ।
‘भीडमा कसैले नेता आए, भाग्यो भनेपछि ममाथि आक्रमण भयो, एम्बुलेन्स पनि तोडियो,’ टण्डनले दुखेसो पोख्दै भने, ‘धेरैबेर पछि केही युवाले चिनेर यो त ग्रिनसिटी अंकल हुन् भनेपछि मात्रै ज्यान जोगियो ।’

टण्डनले आन्दोलनबीच उपचार, उद्धार र रगत संकलनमा निरन्तर सक्रिय रहँदा उल्टै आफैं आक्रमणको सिकार हुनुपरेकोमा गहिरो निराशा व्यक्त गरे ।
हाल टण्डन घरमै आराम गर्दै छन् । शरिरमा ठूलो चोट नदेखिए पनि कुटाइको कारण सामान्य हिँडडुल गर्न समेत नसक्ने अवस्थामा छन् ।







