

काठमाडौं – पछिल्लो एक सातामा देशभर २३९ जनामा नयाँ डेंगु संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा डेंगु संक्रमितको कुल संख्या ४ हजार ३५३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।
महाशाखाका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन्।
प्रदेशगत विवरण अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार १४९ जनामा डेंगुको संक्रमण देखिएको छ। त्यसपछि बागमतीमा ९३६, लुम्बिनीमा ७८०, कोशीमा ६८१, सुदूरपश्चिममा ५०२, कर्णालीमा २०७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण पुष्टि भएको छ।
वर्षा याममा डेंगु फैलिने सम्भावना बढी हुने भएकाले लामखुट्टे नियन्त्रण गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिएको छ। मन्त्रालयले घर र भवन वरपर पानी जम्ने ठाउँ हटाउन, लामखुट्टेको प्रजनन हुने स्थान नष्ट गर्न र लामखुट्टेको टोकाइबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।


