जनकपुरधाम – महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित श्रीआदर्श उच्च माविका सयभन्दा बढी विद्यार्थी बिहीबार दिवा खाजा खाएपछि बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ।
विद्यालय प्रशासनका अनुसार खाजा खाने क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो भेटिएको थियो। त्यसपछि केही विद्यार्थीमा सामान्य स्वास्थ्य समस्या देखिएपछि सबैलाई सुरक्षाका लागि तत्कालै अस्पताल पुर्याइएको जनाइएको छ।

विद्यार्थीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गरिरहेका छन्। अस्पतालका डा. रमेश यादवका अनुसार हालसम्म कुनै गम्भीर समस्या नदेखिएको भए पनि विद्यार्थीलाई रातभर निगरानीमा राखिनेछ।
यता, पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको जानकारी आफूले पाएको तर घटनाको वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए। उनले भने, “विद्यार्थीहरू खाजा खाएपछि अस्वस्थ भएको भन्ने सुनेको छु, वास्तविक विवरण बुझ्दैछु।”








