काठमाडौँ – नेपाल प्रहरीले मानव अंग तस्करीको ठूलो जालो भण्डाफोर गर्दै सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको छ। उनले सयौँ नेपालीलाई भारत पुर्याई मिर्गौला बेचबिखन गरेको आरोपमा महेन्द्रनगरबाट पक्राउ परेका हुन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सञ्चालन गरेको ‘अपरेसन लाइफ सिल्ड’ अन्तर्गत भण्डारी पक्राउ परेका हुन्। ३८ वर्षीय सुनकोशी गाउँपालिका–७ निवासी भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटलसहित विभिन्न क्लिनिकका कर्मचारी र एजेन्टसँग मिलेर अवैध रुपमा अंग कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ।
भण्डारीको गिरोहले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायतका विपन्न व्यक्तिलाई “मिर्गौला दिएर स्वास्थ्यमा असर हुँदैन, पैसा कमाइन्छ” भन्ने प्रलोभनमा पार्थे। मिर्गौला दिने मानिस खोजेपछि गिरोहका सदस्यले प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको खुलेको छ।

पीडितहरूलाई नेपालमै गाडीमा राखी दिल्ली पुर्याइन्थ्यो। त्यहाँ लाजपत नगरस्थित कस्तुरवा निकेतनमा रहेको होटलमा राखी बस्ने–खाने व्यवस्था मिलाइन्थ्यो। मिर्गौला निकाल्नुअघि उनीहरूलाई आँखामा पट्टी बाँधेर अज्ञात ठाउँमा लगेर इन्जेक्सन दिएर बेहोस पारिन्थ्यो। मिर्गौला झिकेपछि ३/४ दिन अस्पतालमा राखी पुनः गाडीमार्फत नेपाल पठाइन्थ्यो।
भण्डारीको गिरोहले “मिर्गौला दिएबापत ६ लाख रुपैयाँ दिन्छौं” भन्ने लोभ देखाउँथ्यो। तर धेरैलाई रकम नदिइएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन्। पाँच जना पीडितले आधिकारिक उजुरी दिएका छन् भने प्रहरीले हालसम्म चार वटा मुद्दा दर्ता गरिसकेको छ।
सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलले पनि आफूलाई होटलमा सजिलो काम दिने भन्दै दिल्ली लगेर मिर्गौला निकालेको बयान दिएका छन्। उनका अनुसार, “६ लाख दिने भने पनि मिर्गौला निकालिसकेपछि एक रुपैयाँ पनि दिएनन्।”

भण्डारीले भारतमा आधारकार्डसमेत बनाएर दिल्लीको लाजपत नगरमा तीन वर्षदेखि बस्दै आएका थिए। उनले नेपालीलाई दिल्लीसम्म ल्याउने, होटलमा राख्ने, अस्पताल लैजाने सबै कामको व्यवस्थापन गर्थे।
उनका सहयोगी सुजन भारतीलाई पनि प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। उनले आफैँ पनि मिर्गौला बेचेको र दिल्लीमै बसेर भण्डारीलाई सहयोग गरेको बयान दिएका छन्। उनले प्रत्येक मिर्गौला दिने व्यक्तिबाट ४० हजार रुपैयाँ पाउने गर्थे।
ब्युरोले यसअघि नै काभ्रे, नुवाकोट र काठमाडौंका राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई पक्राउ गरेको थियो। उनीहरूको बयानकै आधारमा प्रहरीले श्यामकृष्ण भण्डारीसम्म पुग्न सफल भएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार, भण्डारीले प्रारम्भिक सोधपुछमा कम्तीमा २५ जना व्यक्तिको मिर्गौला झिकाउन संलग्न भएको स्वीकार गरेका छन्। तर प्रहरीको दाबी अनुसार उनी सय जनाभन्दा बढीको मिर्गौला बेचबिखनमा संलग्न छन्।
संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। यस अन्तर्गत दोषीलाई १० वर्षसम्म कैद सजाय र २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
ब्युरोका सूचना अधिकारी एसपी नरेन्द्र कुँवरका अनुसार, अपरेसन सुरु गरेको केही दिनमै गिरोहका मुख्य सदस्य पक्राउ परेपछि ठूलो अंग तस्करी सञ्जाल भण्डाफोर भएको हो।







