काठमाडाैं- मधेश प्रदेशमा हैजाको प्रकोप लगातार बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै ११५ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। प्रकोप सुरु भएदेखि हालसम्म संक्रमितको संख्या ५४० पुगेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २ सय ५७ जना बिरामी निको भइसकेका छन् भने २ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा बढी प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिका रहेको छ। नारायणी अस्पतालमा हाल १५८ सक्रिय संक्रमितको उपचार भइरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएका छन्।

यस्तै, तराई अस्पतालमा ४२ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने थप १० नयाँ संक्रमित पुष्टि भएका छन्। वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि २४ सक्रिय र ८ नयाँ बिरामी भर्ना भएका छन्।
त्यसैगरी, बाराको कलैया अस्पतालले एक नयाँ संक्रमित केस पुष्टि गरेको छ। सो बिरामीको वीरगन्ज यात्राको इतिहास रहेको जनाइएको छ। पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा पनि ८ नयाँ संक्रमित दर्ता भएका छन्।
स्वास्थ्य अधिकारीहरूले हैजाको फैलावट अझै रोकथाम नभएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।







