काठमाडाैं- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले फेरि एकपटक सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले बिहीबार बिहान वक्तव्य जारी गर्दै सरकारले हालै निजी मेडिकल कलेजका लागि सिट बढाएको विरोधस्वरूप भदौ १५ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी दिएका हुन्।

गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट थप गर्ने निर्णय गरेको थियो। यसलाई डा. केसीले विद्यार्थी तथा जनताको हितविपरीत रहेको भन्दै आपत्ति जनाएका छन्।

उनले वक्तव्यमा लेखेका छन्, “मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने प्रधानमन्त्री र आयोगका पदाधिकारीले स्वार्थपरक निर्णय गरेका छन्। यसले गरिब मात्रै होइन, बुद्धिजीवी, पत्रकारदेखि सम्पूर्ण नेपालीको स्वास्थ्य प्रभावित हुन्छ। स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो, त्यसैले गुणस्तरीय, सस्तो र सबैका लागि समान पहुँच हुने शिक्षा तथा स्वास्थ्य सेवाका लागि म निरन्तर लड्दै आएको छु।”
उनले बारम्बार आग्रह गर्दा पनि सरकारले आफ्नो निर्णय फिर्ता नगरेको भन्दै शारीरिक अशक्तता हुँदाहुँदै पनि भदौ १५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।







