बारा- बारामा पनि हैजा संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत झाडापखालका एक बिरामीमा बुधबार हैजा पोजेटिभ देखिएको हो। संक्रमित व्यक्ति कलैया नगरपालिका–१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन्।
संक्रमित पुरुष लामो समयदेखि छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आइरहेका थिए। उनी नियमित रूपमा घर र कार्यस्थलबीच आउजाउ गर्ने गर्थे। तर आइतबार अचानक झाडापखालको समस्या देखिएपछि उपचारका लागि कलैया अस्पताल भर्ना भएका थिए। परीक्षणपछि उनीमा हैजा पुष्टि भएको हो।

स्वास्थ्य प्रमुख यादवका अनुसार संक्रमितको गाउँमा स्वास्थ्यकर्मी पठाएर अरु व्यक्तिमा झाडापखाल वा हैजाको लक्षण छ कि छैन भनेर अनुगमन भइरहेको छ। साथै स्थानीयलाई झाडापखाला तथा हैजाबारे सचेत बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।







