वासिङ्टन – अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी फ्लेस–इटिङ स्क्रुवर्म को सङ्क्रमण पुष्टि भएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म मियासिस नामक यो सङ्क्रमण एक व्यक्तिमा फेला परेको हो, जो हालै एल साल्भाडोरबाट अमेरिकामा फर्किएका थिए । उक्त केस गत अगस्ट ४ मा पुष्टि भएको हो ।
यो रोग परजीवी मक्खीको लार्भा (म्यागोट्स) मार्फत सर्ने गर्छ, जसले जिउँदो मासु खाइदिन्छ । सामान्यतया यसले चौपायामा असर गर्ने भए पनि मानिसमा पनि सङ्क्रमण हुने बताइएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले मेरील्यान्डको स्वास्थ्य विभागसँग सहकार्य गर्दै यसबारे अनुसन्धान सुरु गरिसकेको छ । हालको अवस्थामा यसले सार्वजनिक स्वास्थ्यमा ठूलो खतरा पुर्याउने सम्भावना भने ‘अत्यन्तै कम’ रहेको केन्द्रले जनाएको छ ।

यो परजीवी प्रायः दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पाइने भए पनि पछिल्लो समय मध्य अमेरिकाका सबै देशमा (मेक्सिकोसहित) यसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
केन्द्रका अनुसार मानिसमा खुला घाउ भएको खण्डमा संक्रमण हुने सम्भावना बढी हुन्छ । विशेषगरी चौपायासँग सम्पर्कमा रहने वा प्रभावित क्षेत्रमा यात्रा गर्नेहरू बढी जोखिममा पर्ने देखिन्छ ।








