वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा हैजा रोगको सङ्क्रमण फैलिँदै गएपछि खानेपानी परीक्षण तथा शुद्धीकरणलाई तीव्र बनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले हैजा प्रभावित क्षेत्रमा मोबाइल भ्यानसहितको प्राविधिक टोली परिचालन गरी तत्कालै पानी परीक्षण र शुद्धीकरणको काम अघि बढाएको हो ।
गत शुक्रबार वीरगञ्जमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार हैजाको लक्षण देखिएका तर पुष्टि नभएका दुई जनाको मृत्यु भएको जनाइएको छ । यसपछि हैजा नियन्त्रणका लागि सरकार र सम्बन्धित निकाय सक्रिय बनेका छन् ।
विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार हैजा पुष्टि भएका क्षेत्रमा आवश्यक सामग्रीसहितको घुम्ती टोली खटाइएको छ । उनले भने, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै मोबाइल टोली पठाएका छौँ । आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।”

यसैबीच खानेपानी मन्त्री प्रदीप यादव स्वयं प्राविधिक टोलीसहित प्रभावित क्षेत्रमा खटिएका छन् । उनले भने, “आज बिहानदेखि हैजा प्रभावित वडाहरूमा प्राविधिक टोलीले पानी परीक्षण तथा शुद्धीकरणको काम तीव्र रूपमा अघि बढाएको छ । म पनि टोलीसँगै गएर प्रभावित स्थानको अवस्था अवलोकन गरिरहेको छु ।”
वीरगञ्जका विभिन्न वडा र टोलहरूमा हैजा सङ्क्रमण देखिनुका साथै केही व्यक्तिको मृत्यु भएपछि खानेपानी मन्त्रालय र विभागको टोली तत्कालै परिचालन गरिएको हो । हाल हैजा नियन्त्रण र रोकथामका लागि विभाग, मन्त्रालय र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा पानी परीक्षण र शुद्धीकरणलाई निरन्तरता दिइएको छ ।








