बैतडी- जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत एकजना अनमी आफ्नै कोठामा मृत फेला परेकी छन्।
मृत्यु हुनेमा २४ वर्षीया भागरथी कुँवर रहेकी छन्। विजयपुरमै घर भए पनि स्वास्थ्यचौकी टाढा भएकाले उनी भाडाको कोठामा बस्दै आएकी थिइन्। आइतबार राति करिब ८ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेको खुलेको छ। उनी गत वैशाख महिनामात्रै विवाहबन्धनमा बाँधिएकी थिइन्।

विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराका अनुसार अनमी कुँवर आफ्नो काममा सक्रिय थिइन्। तर, अचानक यस्तो घटनामा फेला परेपछि सबै स्तब्ध बनेका छन्।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। हाल घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।








