
कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई वर्षमा विषालु सर्पको टोकाइबाट ४३ जनाको ज्यान गएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन, करेत लगायतका घातक प्रजातिका सर्पले टोकेका पीडितलाई समयमै अस्पताल पुर्याउन ढिलाइ हुँदा धेरैको मृत्यु भएको हो। कतिपय घटनामा पीडित तुरुन्त स्वास्थ्य संस्थामा नपुगी धामी–झाँक्रीको उपचारमा भर पर्दा पनि ज्यान गुमाएको पाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा २३ जना, २०८१/८२ मा १७ जना र चालु आर्थिक वर्षको हालसम्म तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
जिल्लागत विवरण अनुसार, सर्पदंशबाट कैलालीमा २४, कञ्चनपुरमा १०, बैतडी र डडेलधुरामा तीन–तीन, तथा डोटी, दार्चुला र अछाममा एक–एक जनाले ज्यान गुमाएका छन्।
विशेषगरी वैशाखदेखि असोज महिनासम्म सर्पदंशका घटना बढी हुने भएकाले यस अवधिमा सतर्कता आवश्यक रहेको प्रहरीले जनाएको छ।


