
काठमाडौं – तराईका जिल्लामा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गम्भीर प्रकृतिको हो।
यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ, तर चिकित्सकका अनुसार यसको जोखिम १५ वर्षमुनिका बालबालिकामा बढी हुन्छ। हाँस, कुखुरा जस्ता चराचुरुंगी वा सुँगुर–बंगुर जस्ता जनावरलाई टोकेपछि लामखुट्टे संक्रमित हुन्छन्, र त्यसपछि ती लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्न सक्छ।
विशेष गरी साउनदेखि कात्तिक महिनासम्म देखापर्ने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा भने सर्दैन। यस रोगमा तीव्र टाउको दुखाइ, उच्च ज्वरो, बेहोस हुनु, घाँटी कडिनु, शरीर कम्पन, पक्षघात जस्ता लक्षण देखिन्छन्। समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ। लामखुट्टेको टोकाइबाट जोगिनु नै यसको प्रमुख बच्ने उपाय हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तराईका जिल्लाबाट बिरामीहरू उपचारका लागि काठमाडौं आउने गरेका छन्। उनका अनुसार यो रोग निको भए पनि स्नायु प्रणालीमा असर पुगी दीर्घकालीन अपांगता हुनसक्छ।
नेपालमा सन् २००५ देखि जापानिज इन्सेफलाइटिसविरुद्धको खोप उपलब्ध भएकाले संक्रमण दर घटेको भए पनि पछिल्ला वर्षहरूमा पुनः वृद्धि देखिएको उनले बताए। त्यसैले रोकथाम र नियन्त्रणका लागि सरकारले थप चनाखो हुनुपर्ने उनको सुझाव छ।


