काठमाडौं- नेपालमा विशेष गरी वर्षायाममा बढी देखिने जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात मस्तिष्क ज्वरो रोगबाट हुने मृत्यु र जटिलता घटाउन समयमै सचेतना र उपचार अनिवार्य रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र डब्लुएचओको सहकार्यमा स्वास्थ्य पत्रकारहरूलाई यो रोगका विषयमा अभिमुखीकरण गराइरहेको छ। अभिमुखीकरण कार्यक्रममा डब्लुएचओका सर्भिल्यान्स अफिसर डा. सोनिया भगतले जेईबाट बच्न खोप आवश्यक रहेको साथै लामखुट्टेको टोकाइबाट जोगिन झुलभित्र सुत्ने, लामो लुगा लगाउने र सरसफाइमा ध्यान दिनुपर्ने बताइन्।
डा. भगतले भनिन्, “नेपालमा कात्तिकसम्म यस रोगको प्रकोप बढी देखिन सक्छ। यो रोगको समयमा नै पहिचान गरी स्वास्थ्य संस्थामा उपचार सुरु गर्न सके मृत्युदर र दीर्घकालीन जटिलता कम गर्न सकिन्छ।”
लामखुट्टेले सुँगुर, हाँस, बकुल्ला र जंगली चराहरूलाई टोकेर मानिसमा संक्रमण फैलाउने भएकाले गाउँ–घर नजिक यस्ता फार्महरू नराख्न, पानी जम्ने ठाउँ सफा राख्न र लामखुट्टेको प्रकोप भएको क्षेत्रमा विशेष सतर्कता अपनाउन डा. बलविन्द्र सिंह चावलाले सुझाव दिए।

डाक्टर प्रशान्त रायले पनि सो रोग सिधै मानिसबाट मानिसमा सर्न नसक्ने बताउँदै यस रोगबाट बच्न लामखुट्टेको टोकेर जोगिनुपर्नेमा जोड दिए।
जेईको सुरुवाती लक्षण सामान्य ज्वरो र टाउको दुखाइ जस्ता भए पनि गम्भीर अवस्थामा मस्तिष्क सुन्निने, पक्षघात, बेहोसी, कोमा र मृत्यु समेत हुन सक्ने भएकाले समयमै उपचार आवश्यक रहेको चिकित्सकहरूले औंल्याएका छन्।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले स्वास्थ्य पत्रकारहरूको क्षमता अभिवृद्धि र जनचेतना फैलाउन यस्तो सहकार्य निरन्तर जारी रहने बताए।








